FAQs Complain Problems

सन्धिखर्क नगरपालिकाकाे संक्षिप्त परिचय

सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाको सदरमुकाम हो। यो ९६० मिटरको उचाइमा अवस्थित छ । सन्धिखर्कमा तीन वटा खोला बाँगी, घोँचे र भद्री खोलाको संगम हुने भएकाले यो ठाउँलाई त्रिवेणीपुर पनि भनिन्छ । अर्घा र खाँचीका चौबीसे राज्यका ठकुरी वंशका भुरे राजाले यसै ठाउँमा सन्धि गरेका कारणले यस ठाउँको नाम सन्धिखर्क रहन गएको भनाइ प्रचलित छ । वि.सं. २०३२ सालमा नरपानीबाट जिल्लाको सदरमुकाम सन्धिखर्कमा सारिएको हो।सन्धिखर्ककाे चारैतर्फ पहाडी भूभाग छ भने बीचबाट लमतन्न परेर  बाँगीखोला बगेको छ ।यस खोलाकाे वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाँटहरूले यस नगरपालिकाको सौन्दर्य निकै बढाएका छन्।  

स्थानीय विकास मन्त्रालयले २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा अर्घाखाँचीका साबिक सन्धिखर्क, नरपानीखाँचाीकोटकिमडाँडाअर्घाडिभर्ना र वाङ्ला गाउँ विकास समितिहरू समावेस गरी सन्धिखर्कलाई नगरपालिका घोषणा गरेकाे हो । 

पछि २०७३ सालमा स्थानीय तह संरचना बन्दा पाली गाउँ विकास समितिको वार्ड नं. ९ लाई समेत समावेश गरी जम्मा १२ वटा वार्ड कायम गरिएको यस नगरपालिकाको क्षेत्रफल १२९.४२ वर्म कि.मी. छ । राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यस नगरपालिकाकाे जनसंख्या  ४१०७१ रहेको छ ।  यस नगरपालिकाको साक्षरता करिव ९७ प्रतिशत छ ।

सुपा देउराली मन्दिर,अर्घा भगवती मन्दिर, खाँचीकोट मन्दिर, सिद्धेश्वर शिवालय मन्दिर,मथुराको गोपेश्वर पीठ जस्ता पवित्र स्थलहरु सन्धिखर्क नगरपालिकाका गहना हुन् । रक गार्डन डिभर्ना,बिपि स्मृति पार्क तथा गंगा सरोवर नरपानी,मसिनाको लेक , डिभर्ना गुफा , घोर्लासीको लेक जस्ता पर्यटकीय स्थलहरुले पनि सन्धिखर्कको महत्वलाई उजागर गरेका छन् । 

पाणीनि बहुमुखी क्याम्पस, जनज्योति मा.वि., भगवती मा.वि., युवावर्ष जनता रविचित्र मा.वि. र केही निजी विद्यालयहरू सन्धिखर्कको केन्द्रको वरिपरि सञ्चालित छन् । सन्धिखर्कका विभिन्न ठाउँमा गरी जम्मा २ क्याम्पस, ६८ सामुदायिक विद्यालय र १७ संस्थागत विद्यालय सञ्चालित छन् । सबै तहका गरी यहाँका सामुदायिक विद्यालयहरूमा ४४२ जना शिक्षकहरूको दरबन्दी छ । २०७६ सालको तथ्याङ्क अनुसार करिव ९,६०० विद्यार्थी सामुदायिक विद्यालयहरूमा अध्ययनरत छन् भने संस्थागत विद्यालयहरूमा ४,७०० जना विद्यार्थी पढिरहेका छन् । 

सन्धिखर्कमा पहिलो पटक २०४१ सालमा मोटर (ट्रयाक्टर) पुगेको हो । सन्धिखर्क गोरूसिङ्गे ६८ कि.मी.लामो सडक २०६२ सालमा पक्की भएपछि सन्धिखर्कको सम्पर्क देशको राजधानी र तराईका सहर एवम बस्तीहरूसँग सुगम भएको हो । सन्धिखर्क बजार अर्घाखाँचीकै एउटा मुख्य व्यापारिक केन्द्र मानिन्छ । यहाँ शिक्षा तथा स्वास्थ्य सुविधाको राम्रो विकास भएको छ । यस नगरपालिकाको पूर्वमा पाणिनि गा.पा., पश्चिममा भूमिकास्थान न.पा., उत्तरमा मालारानी र छत्रदेव गा.पा. र दक्षिणमा भूमिकास्थान र शीतगङ्गा नगरपालिका पर्दछन् । सन्धिखर्कको केन्द्र वरिपरिको भूमि अत्यन्तै उर्वर छ तर यो उर्वर भूमिलाई धमाधम कंक्रिटले ढाक्न थालेकाले यहाँ व्यवस्थित बस्ती विकासको आवश्यकता टड्कारो रूपले महसुस हुन थालेको छ ।